संखुवासभा। संखुवासभामा सञ्चालन गरिएका अवैध क्रसर बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय संखुवासभाले नियमविपरीत सञ्चालनमा रहेका दुई वटा क्रसर बन्द गराएको हो।
गृह मन्त्रालयले मापदण्डविपरीतका क्रसर बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो। नियमविपरीत सञ्चालनमा रहेका खाँदबारी नगरपालिका–९ स्थित तुम्लिङटार र चैनपुर नगरपालिका–१० खहरेमा राखिएका दुई क्रसर बन्द गरिएको बताइएको छ।
गृह मन्त्रालयको परिपत्रको पालना गर्दे नियमविपरीत सञ्चालनमा रहेका क्रसर पुस २२ गतेदेखि बन्द गरिएको हो। जिल्लामा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन‚ बिक्री तथा व्यवस्थापन मापदण्ड २०७७ विपरीत क्रसर सञ्चालन हुँदै आएका थिए।