काठमाडौं । भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारणलाइनको मुआब्जासम्बन्धी मुद्दा थप लम्बिने भएको छ । अन्तिम चरणमा पुगेको आयोजनाको दुई वटा टावर रहने जग्गाबारे रहेको मुआब्जा विवादको पेशी सर्वोच्च अदालतले आगामी पुस १९ गतेलाई सारेको हो ।
सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले स्थानीयको माग बमोजिम गत २५ चैतमा अन्तरिम आदेश जारी गरेका कारण यस आयोजनाको निर्माण चैतबाट ठप्प छ ।
सर्वोच्चमा विचाराधीन मुद्दा भएकाले प्राधिकरणले तत्काल स्थानीयसँग सहमति गरेर काम अघि बढाउनसक्ने अवस्था पनि छैन । विद्युत् प्राधिकरणका अनुसार ७४ किलोमिटर प्रसारणलाइनमा पर्ने २४६ टावरमध्ये २४४ वटा खडा भइसकेका छन् । दुम्कीबासमा २ वटा टावर निर्माण रोकिँदा अन्तिम चरणमा पुगेको काम पूरा हुन सकेको छैन ।
यो आयोजना छिटो नसकिए राष्ट्रिय विद्युत प्रसारणको मुख्य प्रणाली नै प्रभावित हुने जोखिम रहेको प्राधिकरणले जनाएको छ ।