काठमाडौं। दाङको घोराही उपमहानगरपालिकामा ४३ जलाशय निर्माण गरिएका छन् । सात वर्षको अवधिमा ४३ जलाशय निर्माण गरिएका हुन्।
जलाशय निर्माणपछि कृषि, माछापालन, पर्यटनजस्ता व्यवसायमा टेवा पुग्न थालेको घोराही उपमहानगरपालिकाले जनाएको छ। जलाशय स्थानीय किसान र गाउँलेका लागि आयआर्जन र रोजीरोटीको माध्यम बनेको छ।
उपमहानगरले सुरुवाती वर्षमा १२ वटा जलाशय निर्माण गरेको थियो । त्यसयता थप ३१ वटा जलाशय निर्माण गरेको थियो । जलाशय निर्माणसँगै स्थानीयले सिँचाइ सुविधा लिएर कृषि पेसाबाट राम्रो आम्दानी लिन थालेपछि उत्साहित रहेको स्थानीयले बताए।
स्थानीयवासीले जलाशय बनेपछि बाह्रैमास सिँचाइ पाएको र माछापालन, तरकारी खेती, फलफूल खेतीतर्फ आकर्षित हुँदै गएको बताइएको छ। जलाशय निर्माणमा करिब २० करोड २१ लाख रुपैयाँ बढीभन्दा खर्च भएको छ । घोराहीको करिब ९० बिगाहा क्षेत्रफलमा जलाशयले ओगटेको छ । घोराही उपमहानगरका १९ वडाहरु मध्ये १४ वडाहरुमा ती जलाशय निर्माण गरिएका छन् ।