रुपन्देही। बुटवल उपमहानगरपालिका भित्र सुविधा सम्पन्न दुईवटा भवन निर्माण सुरु गरिएको छ। उक्त उपमहानगरपालिका भित्रका ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा पुर्याउन भवन निर्माण सुरु गरिएको हो।
वडा नं १७ को मोतीपुर र वडा नं १३ को बेलबासमा १६–१६ शय्याका अक्सिजन सुविधासहित स्वास्थ्य केन्द्रको निर्माण सुरु भएको छ।
एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा एउटा स्वास्थ्य केन्द्रका लागि रु एक करोड ५७ लाख लाग्ने बताइएको छ । उक्त केन्द्रको भवन निर्माणका लागि गत मङ्सिरमा बोलपत्र स्वीकृत भएकामा निर्माण कम्पनीले आगामी असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्ससहित स्वास्थ्यकर्मी रहने र सामान्यदेखि अक्सिजन दिएर उपचार गर्नेसम्मका सेवा प्रदान गरिने उपमहानगरले जनाएको छ । तीन कठ्ठा जग्गामा बन्ने स्वास्थ्य केन्द्रका लागि जनशक्ति तथा आवश्यक पूर्वाधार बुटवल उपमहानगरले उपलब्ध गराउने जनाइएको छ ।