तनहुँ। तनहुँ जलविद्युत आयोजनाको प्रवेश सुरुङ छेडिएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको आयोजनाको प्रवेश सुरुङ छेडिएको हो।
सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने ४३६ मिटर लम्बाइ र ७ मिटर व्यास भएको प्रवेश सुरुङ मंगलबार छिचोलिएको आयोजनाले जनाएको छ। व्यास नगरपालिका–५ बेतेनी हुँदै बाँधतर्फ जाने उक्त सुरुङलाई आयोजनाको निर्माण सम्पन्न भएपछि पनि स्थायी रूपमा प्रयोग गर्न सकिने आयोजनाको भनाइ छ।
प्रवेश सुरुङ ब्रेक थ्रु भएपछि अब सेदी नदीको बायाँतर्फबाट हुने निर्माण कार्यका लागि निर्माण सामग्री तथा उपकरणहरू लैजान र आवतजावतका लागि सहज भएको छ।
आयोजनाको पहिलो प्याकेज अन्तर्गत प्रवेश सुरुङ निर्माण गर्न २८ फागुन २०७८ मा पहिलो विस्फोट गराइएको थियो। सुरुङ निर्माणका लागि अन्तिम विस्फोट गत मङ्गलबार गरिएको हो ।
आयोजनाको पहिलो प्याकेज अन्तर्गत १४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रा.लि. नेपाल जे.भी.ले निर्माण गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक डाइभर्सन सुरुङहरू, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नतिलगायतका काम भइरहेका छन् ।