सिन्धुपाल्चोक। बलेफी गाउँपालिकामा पछिल्लो समय कोठाभित्र बसेर उपभोक्ता समिति गठन गर्ने गरेको पाइएको छ । विधि र प्रक्रियालाई नमानेर गाउँपालिका वडा नम्बर ६ मा निमार्ण हुन लागेको अँधेरी खेलमैदान उपभोक्ता समिति उपभोक्ताहरूको भेला नगराई उपभोक्ता समिति गठन गरिएको छ ।
सोही पालिकाको वडा नम्बर ७ को अमलटार बस्ती संरक्षण समिति पनि उपभोक्ता भेला नगराई कोठाभित्रै बसेर उपभोक्ता समिति चयन गरिएको छ । खेलमैदान उपभोक्ता समितिका अध्यक्ष मीन बहादुर तामाङ वडा नम्बर ७ का हुन तर वडा नम्बर ६ मा बन्ने खेलमैदानमा उपभोक्ता समितिको अध्यक्षमा चयन गरिएको छ ।
स्थानीय तथा उपभोक्ता जेकी लामाले सार्वजनिक भेला नगरी कोठाभित्र बसेर गुपचुपमा समिति बनाउँदा उपभोक्ताहरू मारमा परेको बताए । उक्त खेलमैदान अँधेरी युवा क्लबले नै निमार्ण र संरक्षण गर्दे आएको उक्त क्लबका अध्यक्ष समेत रहेका लामाले बताए । उक्त खेलमैदानमा जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालयबाट ३० लाख, भू–तथा जलाधार व्यवस्थापन कार्यालयले १० लाख बजेट विनियोजन गरेको छ ।
बलेफी गापा–७ को अमलटार बस्ती संरक्षण समितिमा त्रिपुरा सुन्दरी गाउँपालिका–५ का गोपाल गदाललाई उपभोक्ता समितिको अध्यक्ष बनाइएको छ । फरक गाउँपालिकाकाको मान्छे फरक गाउँपालिकाको उपभोक्ता समितिको कुनै पदमा बस्न नपाउने स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख छ । उक्त बस्ती संरक्षणको लागि पनि ३० लाख बजेट आएको छ ।
बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीलाल सापकोटाले उपभोक्ता समिति गठन गर्दा आम उपभोक्ताहरूलाई भेला गराउनु पर्ने यदि आम भेला हुन नसकेको खण्डमा उपभोक्ता समितिको ५१ प्रतिशत उपभोक्ता/लाभग्राहीको उपस्थितिमा सर्वसहमतीमा उपभोक्ता समिति गठन हुनुपर्ने नियम छ । वडा अध्यक्ष, जनप्रतिनिधिको रोहवरमा समिति गठन हुनु पर्छ । समिति गठन गर्दा सार्वजनिक खरिद नियामवली २०६४ को नियम ९७ अनुसार उपभोक्ता समिति गठन, व्यवस्थापन, कानुनी आधार उल्लेख छ । गाेरखापत्रबाट