महोत्तरी। बर्षाद र हावाहुरीको पूर्वानुमान भइइदिएको भए बालीनाली नोक्सान हुँदैन्थ्यो कि भन्ने आम किसानहरुको साझा प्रश्न बनिरहेको बेला महोत्तरीमा भने यसको निराकारण हुने भएको छ । प्रत्येक पालिकाहरुमा मौसम स्टेसन जडान गर्ने कार्य प्रारम्भ भएसँगै मौसमको पूर्वानुमान हप्तौँ अघि लिन सकिने भएको छ।
विशेषगरी, बालीनाली लगाउने किसानहरूको लागि निकै उपयोगी बन्न सक्ने मौसम स्टेसनले भूगोलअनुसार कति क्षेत्रफलको जानकारी लिने भन्ने योजना अनुसार नै स्थापना गरिएको छ ।
बर्दिबास, गौशाला, औरही र भंगाहा नगरपालिकामा स्थपना गरिसकिएको स्टेसनले उक्त क्षेत्रफल भित्रको मौसमको जानकारी दिन सुरु गरिसकेको छ ।
एन्ड्रोइड मोबाइलमा युजर नेम र पासवोर्डको माध्यमबाट सजिलै खोल्न सकिने भएकाले स्टेसन राखिएको क्षेत्रको मौसमको अवस्था विश्वभरीबाट हेर्न सकिन्छ ।
युरोपियन युनियन र अष्ट्रियन विकास नियोगको आर्थिक सहयोग तथा आड्रा नेपाल, रुपान्तरण र सामुदायिक विकास तथा पैरवी मंच नेपालको साझेदारीमा संचालित लिरिक परियोजनाअन्तर्गत जडान गरिएको उक्त मौसम स्टेसन जिल्लाका अहिलेसम्म तीनवटा पालिकामा राखिएको छ ।
नगर क्षेत्रमा स्थापना गरिएको मौसम स्टेसनले नगरभरीको मौसमसम्बन्धी जानकारी दिनेछ । मौसमको पूर्ण जानकारी लिनको लागि अन्डर ग्राउन्ड वेदर भन्ने एप डाउनलोड गर्नुपर्नेछ । उक्त एपमा प्राविधिकहरुले सुरक्षित गरेको आईपी ठेगाना हालेपछि मौसमको वस्तुस्थिति थाहा पाउन सकिन्छ ।