सर्लाही। सर्लाहीको मलङ्गवा नगरपालिका–२ मा निर्माण गरिएको सुविधा सम्पन्न बसपार्क सञ्चालनमा आएको छ। मलङ्गवा नगरपालिका–२ मा सङ्घीय सरकारको ८ करोड ३१ लाखको लागतमा निर्माण गरिएको बसपार्क करिब एक वर्षपछि सञ्चालनमा आएको हो।
मलङ्गवा नगरपालिका–९ मा रहेको पुरानो बसपार्क साँघुरो भएको र बजार विस्तारसँगै सवारी साधनको चाप बढेका कारण नयाँ बसपार्क निर्माण गरिएको थियो । बसपार्क निर्माण पछि सञ्चालनका लागि सरोकारवाला निकायले ध्यान नपुर्याउँदा बसपार्क प्रयोगविहीन बनेको थियो।
निर्माण कम्पनीले नगरपालिकालाई बसपार्क हस्तान्तरण नगरेको र नगरपालिकाले पनि चासो नदिँदा नयाँ बसपार्क सञ्चालन हुन सकेको थिएन्।
बसपार्क निर्माण भए पनि सरोकारवाला निकाय एकले अर्कोलाई आरोप लगाउँदै लामो समयसम्म मलङ्गवा नगरपालिका –९ मा रहेको पुरानो बसपार्कबाटै बस सञ्चालन हुँदै आएको थियो।
हाल भने नगरपालिकाले कार्याविधि नै बनाएर नयाँ बसपार्कबाट बस सञ्चालन गरेको छ । करिब २५ रोपनी क्षेत्रफलमा निर्माण भएको बसपार्कमा एकैसाथ ५२ वटा ठूला र २० वटा साना गरी ७२ वटा यात्रीबाहक सवारीसाधन पार्किङ गर्नसक्ने क्षमता रहेको छ।