काठमाडौं। पाल्पा जिल्लाको रामपुर नगरपालिकामा आयुर्वेदिक अस्पतालको भवन निर्माण सम्पन्न भएको छ । नेपाल सरकारको ११ करोड ३३ लाख ४९ हजार रुपियाँ लागतमा उक्त अस्पतालका लागि सुविधासम्पन्न भवन निर्माण भएको हो ।
१५ शय्या सञ्चालनका लागि तीनतले भवन निर्माण गरिएको हो । नयाँ भवनमा कार्यालय कोठा, भान्छा, योगा हल, शल्यक्रिया कक्ष, एक्स–रे कक्ष, बैठक हल, प्रयोगशाला कक्षलगायतका ६८ कोठा छन् । उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सहज र सरल तरिकाबाट आयुर्वेकि औषधसम्बन्धी सेवा दिने उद्देश्यले उक्त भवन निर्माण गरिएको बताइएको छ।
आयुर्वेदिक उपचार पद्धतितर्फ सर्वसाधारणको आकर्षण बढेकाले यो अस्पतालमा सेवाग्राहीको भीड लाग्ने गरेको छ । डेढ वर्षभित्र सकिने गरी २०७६ साल पुसदेखि अस्पताल भवन निर्माण सुरु गरिएको हो । भवन बनेपछि रामपुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
उक्त अस्पताल सञ्चालनपछि पाल्पाको रामपुर, पूर्वखोला, निस्दी, रम्भा गाउँपालिका, स्याङ्जाका चापाकोट, वालिङलगायतका क्षेत्रका नागरिकलाई औषधि उपचार सेवा लिन सहज हुनेछ ।