तनहुँ । २०७२ सालको महाभूकम्पले क्षति पुगेर पुनर्निर्माण भइरहेका तनहुँका ११० वटा विद्यालयको रकम अभावले काम प्रभावित भएका छन् । केन्द्रीय आयोजना कार्यान्वयन इकाइले समयमा नै रकम निकासी नगर्दा भवन अधुरै रहेको हो ।
शिक्षा विकास तथा समन्वय इकाई तनहुँका अनुसार पुनर्निर्माणका लागि ठेक्का सम्झौता भई ७ करोड १५ लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको भवन अधुरै रहको हो । ती विद्यालयमध्ये ६० वटा विद्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको तर वजेटको निकासी नहुँदा भवन निर्माण रोकिएको छ । गत आर्थिक वर्षमा सम्झौता भएर सम्पन्न हुने प्रक्रियामा रहेका विद्यालयलाई रकम अपुग भएको इकाईले जनाएको छ ।
असारमा १० करोड माग गरी पठाएकोमा दुई करोड मात्रै निकासी भएकोले भुक्तानी दिन कठिनाई भएको बताइएको छ । ३९ वटा चार कोठेको लागि २९ करोड ४३ लाख, ३ वटा ३ कोठेको लागि २ करोड ६ लाख ५९ हजार, २ कोठेका १२ वटा शौचालयको लागि ४ करोड ९९ लाख ४१ हजार ३० र खानेपानी २६ वटाको लागि ७ करोड ७९ लाख ९४ गरी भ्याट बाहेक ४८ करोड १३ लाख ७९ हजार रुपैयाँ लागतमा ११० वटा निर्माणाधीन रहेको इकाईका सव इन्जिनियर विनोद गिरीले जानकारी दिए ।