काठमाडौं। काठमाडौं महानगरपालिकाले पैदल यात्रीको सुरक्षाका लागि बेलिकन क्रसिङ् परीक्षण गरेको छ। शुक्रबार केन्द्रीय कार्यालय परिसर बाग दरबारमा बेलिकन क्रसिङ् परीक्षण गरिएको गरिएको हो।
महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठ, नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित अधिकारीहरुको उपस्थितिमा परीक्षण गरिएको थियो। परीक्षणको नतिजा सकारात्मक देखिएको प्रमुख प्रशासकिय अधिकृत अधिकारीले अवलोकनपछि प्रतिक्रिया दिएका छन् ।
महानगरपािलकाले सडक सुरक्षा, रात्रीकालीन आवागमन सहजीकरण तथा पैदलयात्री मैत्री सडक निर्माणका लागि विभिन्न अध्ययन र प्रयोगहरु गरिरहेको छ। बेलिकन क्रसिङ् सवारी गुड्ने सडक किनारामा राखिन्छ । पैदल यात्रीले सडक पार गर्नु पर्यो भने प्रणालीमा राखिएको स्वीच थिचेपछि सवारी गुड्ने सडकतर्फ रातो बत्ती र जेव्रा क्रसिङ्मा हरियो बत्ती बल्छ । महानगरका ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठका अनुसार बालबालिका, अशक्त तथा आपतकालीन अवस्थामा सडक पार गर्नु पर्ने अवस्थाको सुविधाका लागि यो प्रणाली जडान गर्ने अन्तरराष्ट्रिय अभ्यास छ ।
क्रसिङ्सँगै स्मार्ट लाइटको पनि परीक्षण भएको छ । यो जेव्रा क्रसिङ् भएको ठाउँमा सडकबत्तीमा जडान हुने प्रणाली हो । प्रणाली जडान गरिएको पोलमा संकेतसहितको बोर्ड हुन्छ । यो बोर्डतर्फ हात हल्लाएपछि बत्तीको प्रकाश थप चहकिलो हुन्छ । यसबाट पैदल यात्रीलाई सडक पार गर्न सहज हुन्छ । बत्ती चहकिलो बलेपछि सवारी साधनलाई सडकमा पैदल यात्री भएको थाहा पाउन सजिलो हुन्छ । अन्य समयमा सामान्य प्रकाशमा बत्ती बलिरहेको हुन्छ ।
पैदल यात्रीको प्रयोगका परीक्षण गर्न सहरका २ ठाउँमा नमूना जडान गर्ने योजना महानगरको रहेको छ।