कपिलवस्तु। जिल्लाको शिवराज नगरपालिका–५ नौडिहवामा कालोपत्र गरिएको सडकको बीचमा पोल गाडिएका छन्। नौडिहवाका बासिन्दा मनिराम थारुले आफ्नो जग्गामा सडक बनाएको भन्दै पोल गाडेका हुन्।
आफ्नो जानकारी बिना नै आफ्नै जग्गामा सडक बनेको थारुको भनाइ छ। उनले कालोपत्रे सडक निर्माण गर्दा आफूलाई कसैले पनि नबोलाएको र नाप जाँच गर्दा सडक आफ्नो जग्गामा परेकाले पोल गाडेको बताए। आफ्नो अधिकांश जग्गा सडकमा परेको भन्दै व्यक्तिगत जग्गामा सडक बनाउने अधिकार कसैसँग नभएको थारुको दाबी छ।
सडक बनाउँदा नापजाँच भए पनि पछि पुनः थारुले नाप जाँच गर्दा फरक देखिएको स्थानीय बताउँछन्। सो क्षेत्रमा जग्गा प्लटिङ गरेको कम्पनीसँग छलफल गरेर निर्णय गरिने स्थानीयको भनाइ छ। सडकबीचमै पोल गाडिएपछि आफूहरुलाई आवतजावतमा समस्या भएको समेत उनीहरुको भनाइ छ।