काठमाडौं। जोरपाटी–सुन्दरीजल सडक विस्तार योजना सम्पन्न हुने चरणमा पुगेको छ। विस्तारका क्रममा देखिएका विभिन्न अवरोधहरुको समाधान गर्दै जोरपाटी–सुन्दरीजल खण्ड विस्तार कार्य सम्पन्न हुन लागेको हो।
नयाँपाटी नजिकै एउटा ठाउँमा झण्डै ५० मिटरमा भने स्थानीयबासीसँगको विवादका कारण कालोपत्र गर्न बाँकी रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।
यस क्षेत्रमा केही समय पहिले कार्यरत कामदार र स्थानीयवासीबीच विवाद समेत भएको थियो। त्यहाँको समस्या समाधान गर्न वडा कार्यालयले समन्वयका लागि पहल गरिरहेको र समााधन हुनासाथ कालोपत्र गरिने बताइएको छ।
सडक सम्पन्न हुँदै गर्दा स्थानीयवासीले बसपार्क माग गरेको बताइएको छ। बजेट उपलब्ध भएमा बसपार्कसमेत निर्माण गरिने योजना रहेको छ। यो खण्डमा तीनचार ठाउँमा पुल निर्माणका लागि माग भएको र आयोजनाले सरकारसँग बजेट माग गरेको छ।
विसं २०७२ मा सडकको केन्द्र भागबाट दुवैतर्फ ११–११ मिटर चौडा गर्ने गरी सो सडकको विस्तारका लागि ठेक्का सम्झौता भएको थियो।