मोरङ। विराटनगर महानगरपालिका–१८ स्थित भेडियारीमा रहेको प्राचीन विराट राजा दरबरलाई नेपाली सेनाले सङ्ग्रहालयको रुपमा स्थापित गरेको छ।
नेपाली सेनाले विराट राजाको दरबार क्षेत्रलाई समेटेर निर्माण गरेको विराट राजा दरबार सङ्ग्रहालयको आइतबार सेनाका पूर्वी पृतनापति उपरथी डा.आशबहादुर तामाङले उद्घाटन गरेका हुन्।
उद्घाटनपछि उक्त संग्रहालय विराटनगर महानगरपालिकालाई हस्तान्तरण समेत गरिएको छ। पृतनापति उपरथी तामाङ र २ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेशकुमार थापाले संग्रहालय भवनको चाबी विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीलाई हस्तान्तरण गरेका हुन्।
सेनाले निर्माण गरी महानगरपालिकालाई हस्तान्तरण भएको विराट राजा दरबार संग्राहलय आजैबाट सर्वसाधारणका लागि खुल्ला गरिएको छ।
ऐतिहासिक सम्पदालाई संरक्षण, संवर्धन तथा जगेर्ना गर्ने उद्देश्यका साथ प्राचीन विराट राजा दरबार संग्राहालय भवन सेनाको भैरव दल गणले निर्माण हस्तान्तरण गरेको हो । नेपाली सेनाको क्विक इम्प्याक्ट प्रोजेक्ट अन्तर्गत १९ लाख ७५ हजारको लागतमा संग्रहालय भवन निर्माण भएको हो