लमजुङ। लमजुङको दूधपोखरी गाउँपालिकामा समाजसेवी कालिका दवाडी र मुक्तिनाथ दवाडीले विद्यालय भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेका छन्। दूधपोखरी–२ विचौरस्थित श्री बागीश्वरी माध्यमिक विद्यालयलाई दवाडी परिवारले भवन निर्माण गरी हस्तान्तरण गरेका हुन्।
उनीहरुले आफ्ना बुबाआमाको स्मृतिमा ३० लाखको लागतमा दुईतले चारकोठे चूडामणि रुक्मिणा दवाडी स्मृति भवन तथा कम्प्युटर प्रयोगशाला भवन निर्माण गरेका हुन्।
भवन हस्तान्तरण समारोहमा प्रदेशसभा सदस्य डा.टकराज गुरुङले विद्यालयको शैक्षिकस्तर अभिवृद्धि एवं गाउँमा सडक स्तरोन्नति र केन्द्रीय प्रसारण लाइन विस्तारलगायतका विकास निर्माणमा आफूले सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन्।
कार्यक्रममा समाजसेवी कालिका दवाडी र मुक्तिनाथ दवाडीले गाउँको शैक्षिक विकासमा योगदान दिने बुवाको स्मरणमा विद्यालय भवन निर्माण गर्न पाउँदा खुसी लागेको र आगामी दिनमा पनि यस किसिमको सहयोग गर्दै जाने बताए।