हुम्ला। कर्णाली कोरिडोरको सिमकोट हिल्सा सडक खण्डको च्याछरा क्षेत्रको सडक अनिश्चित कालका लागि बन्द हुने भएको छ। च्याछरादेखि पातीहाल्नसम्मको सडकको स्तरवृद्धि हुने भएकाले सडक बन्द गरिने भएको हो।
नाम्खा गाउँपालिकाले सूचना जारी गर्दै सडक चैत ५ गतेदेखि १२ गतेसम्म आंशिक र १२ गतेपछि पूर्ण रूपमा यातायातका साधन सञ्चालन गर्न नपाइने गरी बन्द गरिने भएको जानकारी दिएको छ।
हिल्सा सिमकोट सडकको नाम्खा गाउँपालिकाको च्याछरादेखि पातीहाल्नसम्मको सडकको स्तरवृद्धि कार्य सुरु हुने भएको कारण सडक बन्द हुने भएको हो। सो खण्डको सडकको निर्माण कार्य पुरा नहुन्जेल वा अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जनाइएको छ । सडक निर्माण कार्यले यातायात सञ्चालन कार्य बन्द हुने भएपछि माथिल्लो हुम्लामा पैदल मार्गबाट हिँड्नु पर्नेछ ।
गाउँपालिकाले सडक बन्द कार्यले यातायातका साधन तथा यात्रुहरुलाई पर्न गएको असुविधा प्रति क्षम याचना समेत गरेको छ ।