काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडले दिगोमा लगानी गरेको छ। दिगोले विद्युतीय सवारी साधनको कारोबार देखि देशभर चार्जिङ स्टेशन, ईभीफ्लिट सेवा, ब्याट्री एसेम्बलिङ, ब्याट्री डिस्पोजल र गाडी रूपान्तरणसम्मका पूर्वाधार निर्माणमा काम गरिरहेको छ ।
दिगोमा लगानी गर्ने नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेड ग्लोबल इक्विटी फण्ड, प्राइम लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा संयुक्त रूपमा प्रवर्द्धन गरिएको कम्पनी हो । एनआईआईएफबाट प्राप्त रकम ‘मिसन शून्य उत्सर्जन’ को सपनालाई बढाउन प्रयोग गरिने कम्पनीका प्रबन्ध निर्देशक राजन रायमाझी बताएका छन्।
उनले सन् २०३० सम्ममा ५० प्रतिशत इन्धनका सवारी साधनलाई प्रतिस्थापन गर्न सक्ने र यसका लागि जनतालाई यो नै भविष्य हो भन्ने विश्वास दिलाउन इकोसिस्टम आवश्यक रहेको बताए। ‘ईभीइकोसिस्टममा देशभरका चार्जिङ स्टेशनहरू र राजमार्गहरूमा ईभी सवारी साधनहरूका लागि विश्राम स्टपहरू र अधिक इभीएस, प्रायः सार्वजनिक सवारीहरू समावेश छन् । यसले देशलाई ठूलो फाइदा पुर्याउने र एनआईआईएफबाट प्राप्त रकमले हामीलाई यो लक्ष्य छिटो पुग्न मद्दत गर्नेछ’ उनले भने ।
ग्लोबल इक्विटी फण्डका प्रबन्ध निर्देशक डा. मनिष थापाले नेपालमा वायु प्रदूषण जीवन वा मृत्युको विषय भएको दोहोर्याए। खराब हावाको गुणस्तरबाट हुने स्वास्थ्य जटिलताहरूले वार्षिक रूपमा धेरैको ज्यान गुमाउने भन्दै यातायात क्षेत्रले यस संकटमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
यसको एउटा महत्त्वपूर्ण पक्ष भनेको विद्युतीय गतिशीलता र यस रूपान्तरणलाई समर्थन गर्ने इकोसिस्टमको विकास गर्नु रहेको उनले बताए ।