काठमाडौं। पाल्पाको रामपुर नगरपालिका ८ कुमराङ्गमा खालिवन स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ। रामपुर नगरपालिका र जापनिज नागरिक काजुमासा काकिमी (ओके बाजे) को सहयोगमा निर्माण भएको भवनको शुक्रबार उट्घाटन गरी सञ्चालनमा ल्याइएको हो।
उक्त भवन रामपुर नगरपालिकाको १४ लाख रुपैयाँ र ओकेबाजेको १० लाख रुपैयाँ सहयोगमा निर्माण गरिएको छ। खालिवन स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ८ का अध्यक्ष बोमबहादुर नामजालीका अनुसार उक्त स्वास्थ्यचौकीको भवन निर्माण गर्न स्थानीयले जग्गा उपलब्ध गराएपछि नयाँ भवन निर्माण गरिएको हो।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले भवनको उद्घाटन गर्दै नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पूर्वाधारमा नगरले जोड दिएको बताए। नवनिर्मित भवनसंगै सुरक्षित मातृ सेवाको लागि बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। विसं २०५० मा स्थापना भएको यस स्वास्थ्यचौकीको नयाँ भवन बनेपछि सेवा प्रवाह सहज हुनेछ।