काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन ५ वर्ष टिक्ने र यसले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्ने बताए।
प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा पूर्व प्रधानमन्त्री नेपालले अहिले जुन घटकबीच सहकार्य गरिएको छ त्यस आधारमा सरकार ५ वर्ष टिकाउ हुन्छ भन्ने विश्वास गरिएको उल्लेख गरे।
‘अहिलेकै गठबन्धनले देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाएर लैजान्छ । राष्ट्रकासामु रहेका सबै चुनौतीको सामना गर्न एकताबद्ध भएर अगाडि बढ्छ’ उनले भने। अहिलेको दिन आउनसक्ने परिस्थितिको पहिले नै आँकलन गरिएको बताउँदै अध्यक्ष नेपालले यसबारे प्रधानमन्त्रीले यसअघि नै स्पष्ट गरिसक्नुभएको उल्लेख गरे
“हाम्रो मानसिकता अरुलाई दोष दिनेछ”, उनले भने, “आफनो कमीकमजोरीलाई सुधार नगरेसम्म राजनीतिक सुधारतर्फ जान सक्दैन । यसप्रति सबै नेता र सांसदलाई ध्यानाकर्षण गर्न चाहन्छु ।”
प्रधानमन्त्रीले राख्नुभएको विश्वासको प्रस्तावलाई समर्थन गर्दै अध्यक्ष नेपालले प्राथमिकताका आधारमा आयोजना छुट्याएर मुलुकको विकास र समृद्धिमा ध्यान दिन आग्रह गरेका छन्।