बाँके। बाँके जिल्लामा चालू आर्थिक वर्षको आठ महिनामा करिब साढे २७ प्रतिशतमात्र पुँजीगत बजेट खर्च भएको छ।
संघ र प्रदेश सरकारबाट विनियोजित कुल बजेटमध्ये चालू आर्थिक वर्षको ८ महिनामा २७.४३ प्रतिशतमात्र पुँजीगत खर्च भएको हो।
कुल ८ अर्ब ९७ करोड २० लाख ७७ हजार बजेटमध्ये दोस्रो चौमासिकसम्म २ अर्ब ४६ करोड १४ लाख २० हजार मात्र खर्च भएको हो।
जिल्लामा चालू खर्च भने करिब साढे ६२ प्रतिशत भएको छ। बाँकेका लागि प्रदेश र संघीय सरकारबाट प्राप्त १२ अर्ब ४७ करोड ३४ लाख ४६ हजार ३८१ मध्ये सात अर्ब ८० करोड २० लाख ९२ हजार ६७ रुपैयाँ चालू बजेट खर्च भएको हो।
चालू आर्थिक वर्षको दोस्रो चौमासिकसम्म बाँकेमा भएका ठूला विकासे आयोजनाको विकास खर्च न्यून मात्र भएको पाइएको छ । जिल्लामा भएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनालगायत अन्य विकासे आयोजनाको पुँजीगत बजेट खर्च कम भएको पाइएको हो ।
सिक्टा सिँचाइ आयोजनामा कुल पुँजीगत बजेट एक अर्ब ८५ करोड पाँच लाख विनियोजन भएकोमा फागुनसम्म ४७ करोड १० लाख ५७ हजारमात्र खर्च भएको कोलेनिकाले जनाएको छ । यो कुल पुँजीगत बजेटको २५.४५ प्रतिशत हो ।
यस्तै हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जले फागुनसम्म २६.३३ प्रतिशत बजेट खर्च गरेको छ। आयोजनाको कुल पुँजीगत बजेट ६८ करोड २५ लाख विनियोजन भएकोमा फागुनसम्म १७ करोड ९७ लाख ४४ हजारमात्र खर्च भएको बताइएको छ ।