मकवानपुर। हेटौंडा सिमेन्ट उद्योगको उत्पादन आजदेखि फेरि बन्द भएको छ। सिमेन्ट उत्पादनका लागि आगो बाल्ने मेसिन (भट्टी) मा प्राविधिक समस्या आएपछि शुक्रबारदेखि उद्योग बन्द भएको हो।
उद्योग एक हप्तासम्म बन्द हुने बताइएको छ। मेसिनको मर्मत प्रक्रिया सुरु भएको र आगामी एक हप्तामा मर्मत भई पुनःसञ्चालनमा आउने उद्योगले जनाएको हो।
उद्योगमा गोदाममा रहेको सिमेन्टको प्याकिङ गर्ने तथा बिक्री वितरण गर्ने काम भने भइरहको उद्योग व्यवस्थापनले जनाएको छ । बन्द हुनुअघिसम्म उद्योगबाट दैनिक करिब १४ हजार बोरा सिमेन्ट उत्पादन भइरहेको थियो।
उद्योगका लागि पर्याप्त मात्रामा चुनढुङ्गाको मौज्दात रहेको व्यवस्थापनले जनाएको छ । सरकारले २०३२ सालमा स्थापना गरेको यो उद्योगले २०४३ सालदेखि व्यावसायिक रूपमा सिमेन्टको उत्पादन सुरु गरेको थियो।