सप्तरी। बोदे बर्साइन नगरपालिकामा ‘कोल्ड स्टोर’ निर्माण गर्न थालिएको छ। बोदे बर्साइन–२ बैरियामा निर्माण गर्न लागिएको शीतभण्डारको नगरप्रमुख आतेशकुमार सिंहले शिलान्यास गरेका हुन्।
तरकारी तथा फलफूल लामो समयसम्म भण्डारण गर्ने उद्देश्यले बैरियामा सात सय मेट्रिक टन क्षमताको अत्याधुनिक कोल्ड स्टोर निर्माण गर्न लागिएको हो। नगरप्रमुख आतेशकुमार सिंहले यसले किसानलाई आलु, प्याज तथा अन्य तरकारी भण्डारणमा सहयोग पुग्ने बताए।
नगरप्रमुख सिंहले लामो समयसम्म उत्पादन गरिएका तरकारी तथा फलफूल भण्डार गरेर राख्न सकिने भएकाले किसान खेतीतर्फ आकर्षित भई उत्पादनमा वृद्धि हुने तथा बजारीकरणको सम्भावना पनि बढ्ने दाबी गरे।
केन्द्र सरकारको सम्पुरकोषको अनुदानमा नौ कठ्ठा जग्गामा शीतभण्डार निर्माण हुन लागेको हो । जसमा अत्याधुनिक प्रविधि मल्टिप्रपोज कोल्डस्टोरको प्रथम चरणमा प्रशासनिक कार्यालय भवन, गेष्ट हाउस, शौचालय, वाउण्ड्री वाल, पार्किङ निर्माण गरिने छ।