काठमाडौं। वाग्मती सिंचाइ आयोजनाले पाँचवटा निर्माण कम्पनीसँग स्पष्टीकरण मागेको छ। आयोजनाले सिंचाइको काम अलपत्र पार्ने पाँचवटा निर्माण कम्पनीसँग स्पष्टीकरण माग गरेको हो।
वाग्मती सिंचाइ आयोजनाले आज (आइतबार) सूचना जारी गर्दै विभिन्न योजनामा काम गर्ने निर्माण कम्पनीसँग स्पष्टीकरण मागेको हो।
आयोजनाले ३ वर्षदेखि सम्झौता गरेर काम अलपत्र पारेको भन्दै उक्त निर्माण कम्पनीहरुलाई स्पष्टीकरण दिन ७ दिनको समय दिएको छ, जसमा ग्रामीण पुल तथा नहर लाइनिङ निर्माण र वाग्मती सिँचाइ आयोजनाको ब्यारेज मर्मत सम्बन्धि कार्य गरिरहेको आ. बि. कन्स्ट्रक्सनलाई स्पष्टीकरण माग गरिएको हो।
यसैगरी, बक्स कल्भर्ट तथा नहर लाइनिङ निर्माणको काम गरिहरेको स्ट्रक्टिफर्म कन्स्ट्रक्सन, जिंगडिया प्रशाखाको विभिन्न स्थानमा क्षतिग्रस्त संरचनाको संरक्षण तथा पुनःनिर्माण गरिरहेको निराल निर्माण सेवा र ढेग्रा स्केपमा सिंचित क्षेत्र बचाव सम्बन्धित कार्य गरिरहेको गायत्रीमा कन्स्ट्रक्सनसँग आयोजनाले स्पष्टीकरण माग गरेको हो।
आयोजनाले यी निर्माण कम्पनीहरुले सात दिनभित्र स्पष्टीकरण पेस नगरे ठेक्का तोडेर कालोसूचीमा राख्ने प्रक्रिया अगाडी बढाईने बताएको छ।
