काठमाडौं। कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० लगानीमा रङ्गशाला निर्माणको सुरुवात भएको छ। उक्त रङ्गशाला प्रदेश सरकारको लगानीमा निर्माण सुरु भएको हो।
रङ्गशाला निर्माणार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार मुख्यमन्त्री जीवनबहादुुर शाहीका उपस्थितिमा कर्णाली प्रदेश खेलकुद परिषद् र निर्माणको जिम्मा लिएको कम्पनी एमएसी जिएसएल जोइन्ट भेन्चुर कान्तिपथ काठमाडौंबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सो अवसरमा मुख्यमन्त्री शाहीले मुलुक विकासको मेरुदण्डका रुपमा कार्यरत प्राविधिक जनशक्तिले यसको निर्माणार्थ अहोरात्र खट्न आग्रह गरे।
प्रत्यक ठूला आयोजना सङ्घ सरकारबाट हुँदै आएका छन्, तर यतिबेला कर्णाली प्रदेश सरकारले पहिलो प्रदेश गौरवको आयोजनाका रुपमा ठूलो लगानी गरेर रङ्गशाला निर्माणको कार्यलाई अगाडि बढाएको छ, उनले भने, “यसको निर्माण कार्य जिम्मा लिएको कम्पनीले तोकिएको समयभन्दा अगाडीनै सक्ने गरी दिनरात खटिएर काम गर्न अनुरोध गर्दछु।”
कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले इपिसी डिजाइन एण्ड बिल्डअनुसार सम्झौता भएको रङ्गशालाको निर्माण फिफा स्ट्याण्डर्डमा हुने जानकारी दिए। हामीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने उद्देश्यका साथ निर्माणको काम आइतबारदेखि लागू हुने गरी सम्झौता गरेका छौँ, दशहजार दर्शक अट्ने क्षमताको प्याराफिटसहितको रङ्गशालाको निर्माण कार्य ३० महिनामा सम्पन्न हुनेछ।
प्रदेश सरकारअन्तर्गतको पहिलो अन्तर्राष्ट्रिय बोलपत्र आह्वान विसं २०७८ असार ३१ गते भई छ बोलपत्रदाताको सहभागितामा ०७८ भदौ २१ गते खोलिएको उनले जानकारी दिए । नेपाली र भारतीय निर्माण व्यवसायीको साझेदारीमा सञ्चालित एमएसी/जिएसएल जोइन्टर भेन्चुरका आधिकारिक प्रतिनिधि अनुप आचार्यले नमूना र गुणस्तरयुक्त रङ्गशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।