काठमाडौं। काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडकखण्ड विस्तारको काम एक हप्ताभित्र अघि बढाउन निर्देशन दिइएको छ। मङ्गलबार जिल्ला प्रशासन कार्यालय धुलिखेलमा भएको सरोकारवालाबीचको छलफलमा एक हप्ताभित्र काम अघि बढाउन भनिएको हो।
एक हप्ताभित्र सडक निर्माणले गति नलिए निर्माण कम्पनीलाई ठेक्का नै खारेज गर्नेसम्मको चेतावनी दिइएको छ। पटकपटक लिखित र मौखिक ताकेता गर्दा पनि निर्माण व्यवसायी सम्पर्कमा नआएपछि यसअघि पनि तीन दिने स्पष्टीकरण सोधिएको थियो। स्पष्टीकरण पनि चित्तबुझ्दो नआएकाले फेरि एक पटक अवसर दिएको भन्दै एक हप्ताको समय तोकिएको आयोजनाले जनाएको छ।
सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्नतिको काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो। चार किलोमिटर सडकखण्ड विस्तार एवं निर्माण सुरु भएको १० महिना बितिसक्दा १० प्रतिशत मात्रै काम गरी रोकिएको छ। निर्माणकार्य अलपत्र अवस्थामा रोक्दा उक्त सडकखण्डमा यात्रुले निकै सास्ती खेप्दै आएका छन्।