काठमाडौं। विभिन्न कारणले अघि बढ्न नसकेका सडकको निर्माण कार्य अघि बढाउन सांसदहरुले माग गरेका छन् । प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले ठेक्का प्रक्रिया सुरु भएर काम अघि नबढेका र ठेक्का प्रक्रियामै अल्झिएका सडकखण्डको काम अघि बढाउन संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।
प्रतिनिधिसभामा बोल्दै सांसद ठाकुरप्रसाद गैरेले विभिन्न सरकारी निकायहरुबीच समन्वय हुन नसक्दा पनि सडकका काम अलपत्र परेको भन्दै समस्या समाधान गरी तुरुन्तै काम अघि बढाउन माग गरे।
उनले रुपन्देही, पाल्पा र गुल्मी जिल्ला जोड्ने सडक सालझण्डी–सुन्दरढुङ्गा सडक कालोपत्रे गर्नका लागि ठेक्का लागेको तीन वर्षभन्दा बढी समय भइसक्दा पनिअहिलेसम्म काम सुरु हुननसकेको जानकारी समेत गराए । पाल्पाको डुम्रेदेखि काकल्दी–बुढाखोल्सा–कुसुमखोला–त्रिवेणी–सातमूले हुँदै गुल्मी जोड्ने सडकको ठेक्का सुरु भएर पनि ट्र्याक खुल्न नसकेको समेत बताए।
त्यसैगरी डुम्रेदेखि कुसुमखोलासम्मको सडक कालोपत्रे गर्ने गरी सुरु भएको ठेक्काको काम अझै सुरु नभएको संसदमा जानकारी गराएका छन्।
सांसद गैरेले भने, “वन मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयबीचको समन्वयको अभाव र सानातिना कानुनी उल्झन देखाएर निर्धारण भएका कामहरू सुरु नहुँदा हाम्रो काममा प्रश्न उठ्ने गरेको छ।”
उनले ठेक्का प्रक्रिया सकिएर पनि काम सुरु नभएका आयोजनामा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्न उनले संसदमा माग गरे ।