काठमाडौं। महालेखा परीक्षकले नेपाली सेनाले गरेको खर्चमाथि प्रश्न गरेको छ। महालेखा परीक्षकको ६०औं वार्षिक प्रतिवेदनले सेनाले काठमाडौं–तराई द्रुतमार्ग आयोजनासँग प्रत्यक्ष सम्बन्ध नभएका शीर्षकमा गरेको २ अर्ब ७६ करोड रुपैयाँ खर्चमाथि प्रश्न गरेको हो।
द्रुतमार्ग आयोजनामा सेनाले आयोजनसँग प्रत्यक्ष सम्बन्ध नभएका शीर्षकमा खर्च गरेको प्रतिवेदनले देखाएको छ। जसमा आयोजनासँग प्रत्यक्ष नभएका शीर्षकहरुमा सवारीसाधन, प्रशासनिक, उपकरण, इन्धन, फर्निचर, क्याम्प निर्माण लगायतका खर्च छन्।
प्रतिवेदन अनुसार यो आयोजनाले हालसम्म गरेको कुल खर्चको ८.०४ प्रतिशत रकम हो। आयोजनामा सेनाले ३२ करोड ९९ लाख रुपैयाँ इन्धन शीर्षकमा खर्च गरेको छ। यस्तै, क्याम्प निर्माणमा ६७ करोड रुपैयाँ खर्च गरेको उक्त प्रतिवेदनमा उल्लेख छ।
यसैगरी प्रतिवेदन अनुसार सेनाले प्रशासनिक शीर्षकमा ४२ करोड ४५ लाख रुपैयाँ खर्च गरेको छ। सेनाले फर्निचरमा ५० लाख र सवारीसाधन शीर्षकमा १५ करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ।
सेनाले उपकरण शीर्षकमा पनि ७८ करोड २३ लाख रुपैयाँ खर्च गरेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रतिवेदन अनुसार आयोजनामा हालसम्म ३४ अर्ब २९ करोड ८४ लाख रुपैयाँ खर्च भएको छ।