काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चक्रपथको बल्खु–कलङ्की सडकखण्डको सर्भिस लेन पुनस्र्थापनाबारे छानबिन सुरु गरेको छ। अनियमितता भएको शङ्कामा अख्तियारले काम रोकेर छानबिन सुरु गरेको हो।
कलङ्की–बल्खु सडकखण्डको सर्भिस लेनको १.७ किलोमिटर सडकखण्डमा कालोपत्रेमुनिको ‘बेस फेलियर’ भई कालोपत्रे सतह बिग्रिएको भन्दै कालोपत्रे उप्काएर पुनस्र्थापना सुरु गरिएको थियो।
चक्रपथ सुधार आयोजनाबाट सडक डिभिजन कार्यालयमा सो सडकखण्ड हस्तान्तरण भई डिभिजनले सर्भिस लेन पुनस्र्थापना अगाडि बढाएको थियो।
सर्भिस लेनमा कुनै पनि समस्या नआएको, सडकमा खाल्टाखुल्टी नपरेको र चक्रपथको अरू भागमा जस्तै सो सर्भिस लेनमा पनि सवारीसाधन आवतजावतमा कुनै अवरोध नहुँदानहुँदै बिनाकारण कालोपत्रे उप्काएर पुनस्र्थापना अगाडि बढाइएको भन्दै अनियमितताको आशंका गरिएको छ। चीन सरकारको अनुदानमा निर्माण भएको चक्रपथको सो सर्भिस लेन काम नलाग्ने भएको भन्दै ऋण लिएर बनाउन थालिएको थियो।
चीन सरकारको अनुदान सहयोगमा विस्तार भएको चक्रपथको सो खण्डको पुनस्र्थापनाका लागि अहिले विश्व बैङ्कको ऋण सहयोगबाट सुरु गरिएको हो । सो सडकखण्डको पुनस्र्थापनाका लागि तीन करोडमा ठेक्का लगाई काम सुरु भएको थियो ।