काठमाडौं। नेपाल टेलिकमले आफ्नो कार्यालयको प्रांगण बाहिर धर्ना दिइरहेकाहरुसँग हाल कुनै सम्बन्ध नरहेको जनाएको छ। टेलिकमले विज्ञप्ति जारी गर्दै विगतमा भएको सम्झौता सकिएकाले धर्ना गर्नेसँग अब कुनै सरोकारको अवस्था नरहेको जनाएको हो।
टेलिकमले विगतमा सेवा विस्तार र मर्मत लगायतका काममा विभिन्न कम्पनीहरुको सेवा लिएकोमा सम्झौता अवधि सकिएपछि अनावश्यक धर्ना दिएर टेलिकमबारे भ्रम फैलाएको टेलिकमले विज्ञप्तिमा उल्लेख गरेको छ।
‘नेपाल टेलिकमले सेवा विस्तार, मर्मत सम्भार लगायतका कम्पनीको सेवा प्रवाह तथा कार्य सञ्चालनका लागि आवश्यकता बमोजिम विभिन्न समयमा विभिन्न सेवा प्रदायक कम्पनीसँग प्रचलित नियम÷कानुन बमोजिम सम्झौता गरी निश्चित समय तथा कार्य तोकी आवश्यक सेवा लिने गरेको छ । सो सम्झौताको समयावधि वा तोकिएको कार्यावधि समाप्तिसँगै उक्त सेवा प्रदायक कम्पनीहरुसँगको दायित्व पनि समाप्त हुने व्यवस्था छ ।’ टेलिकमले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘केही दिन पहिले सम्पन्न व्यवस्था अनुसार विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भई प्रतिस्पर्धाका आधारमा अर्को सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेको छ । यो अवस्थामा विगतको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित जनशक्तिले कम्पनीको प्रांगण बाहिर विभिन्न माग राखिरहेको अवस्था छ । हाल विगतको सेवा प्रदायकसँगको दायित्व समाप्त भएको अवस्थामा ती जनशक्तिसँग नेपाल टेलिकमको कुनै सरोकार नरहने अवस्था हुन्छ ।’