काठमाडौं । निजामती कर्मचारीहरूले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार ठप्प पार्ने चेतावनी दिएका छन् । कर्मचारी युनियनले निजामती सेवा विधेयकविरुद्ध आन्दोलन घोषणा गर्दै आफ्ना माग सुनुवाई नभए सिंहदरबार नै ठप्प पार्ने चेतावनी दिएका हुन्।
निजामती कर्मचारी युनियनले बुधबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै विधेयकविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । घोषणा अनुसार कर्मचारीहरुले वैशाख १९ र २० गते प्रधानमन्त्रीसहित राजनीतिक नेतृत्व र मुख्य सचिव लगायतका उच्च सरकारी अधिकारीहरूलाई एसएमएस पठाउने छन् । वैशाख २१ गते सिंहदरबार कार्यस्थल रहेका कर्मचारीहरू कार्यालयमा अनुपस्थित रही कामकाज ठप्प पार्नेछन् ।
कर्मचारी युनियनले बाध्य भएर आन्दोलनका कार्यक्रम घोषणा गरेको जनाएको छ।
सरकारले प्रस्तावित संघीय निजामती सेवा ऐनमा माग समावेश गरी मस्यौदा तत्काल सार्वजनिक नगरेमा थप आन्दोलनका कार्यक्रम घोषणा हुने बताइएको छ। कर्मचारीहरूले उठाएका वृत्ति विकास, सेवा सुरक्षालगायतका माग सम्बोधन हुने गरी चालु अधिवेशनबाट संघीय निजामती सेवा ऐन जारी गर्नुपर्ने माग रहेको छ।