काठमाडौं। काठमाडौं महानगरपालिकाले सीसीटिभी (क्लोज सर्किट टेलिभिजनं) जडान गर्ने भएको छ। उक्त जडान गर्नको लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ दिने भएको हो।
महानगरले शहरभित्रका विभिन्न ठाउँमा सीसीटिभी जडान र सञ्चालन गर्न उक्त रकम दिने भएको हो। महानगरपालिकाले शहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदूषण, सार्वजनिक सम्पत्तिको उपयोग जस्ता शहरी सुशासन र नगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन सीसीटीभी जडानको लागि सहयोग गर्न लागेको बताएको छ।
महानगरपालिका प्रमुख बालेन साहको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीबीच सम्झौता पत्रमा बिहीबार हस्ताक्षर भएको छ । काठमाडौं महानगरपालिकाले दिने रकममध्ये ५० प्रतिशत अर्थात् ३ करोड रुपैयाँ आउँदो १५ दिनभित्र र बाँकी रकम खरिद सम्झौता बमोजिम कार्य सम्पादन भएपछि भुक्तानी गरिनेछ ।
सम्झौतापछि महानगरका प्रमुख साहले, सहरी व्यवस्थापनसँग सम्बन्धित अवस्था हेर्न महानगरभित्रै पनि सीसीटिभी निगरानी कक्ष स्थापना गर्नुपर्नेमा जोड दिए । ‘शहरलाई व्यवस्थापन गर्ने र सार्वजनिक सरोकार जस्ता विषयमा नेपाल प्रहरीसँग सहकार्य जारी छ । यो नियमित हुनेछ’, मेयर साहले भने ।