काठमाडौं । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका उपायसम्बन्धी जनचेतना फैलाउनुपर्नेमा जोड दिएका छन्। आठौँ भूकम्प स्मृति दिवसका अवसरमा सन्देश दिँदै उहाँले भूकम्पबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी सचेतना फैलाउनु जरुरी रहेकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।
उनले भूकम्प एक प्राकृतिक विपद् भए पनि प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले पनि भूकम्पीय जोखिम बढाउँदै लगेको उल्लेख गरेका छन् । नेपाल भूकम्पीय जोखिममा पर्नुको मुख्य कारणमध्ये यहाँको भौगोलिक अवस्थिति र भूबनावट कारकका रुपमा रहेको जनाउँदै उनले भूकम्पबाट अत्यधिक क्षति हुनुमा मानव निर्मित भौतिक संरचना मुख्य कारकका रुपमा रहेको बताएका छन्।
सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापना गरी भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुनःनिर्माण कार्य लगभग सम्पन्न भइसकेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले बाँकी रहेका काम सम्पन्न गर्ने जिम्मेवारीसमेत प्राधिकरणबाट सम्बन्धित निकायलाई हस्तान्तरण भई निर्माण कार्य सञ्चालन भइरहेको जनाएका छन्।
पुनः निर्मित भौतिक संरचनामा नेपालको मौलिकता झल्किनाका साथै भूकम्प प्रतिरोधात्मक प्रविधिको प्रयोग गरिएको उनको भनाइ छ । उनले पुनःनिर्माण तथा पुनःस्थापनाका कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका छन्।
गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भई विसं २०७२ साल वैशाख १२ गते भूकम्प गएको थियो । उपराष्ट्रपति यादवले गोरखा भूकम्प र त्यसपछिका परकम्पमा परी जीवन गुमाउनुहुने सम्पूर्णमा श्रद्धासुमन अर्पण गरेका छन्।