काठमाडौं। पोलमा अनावश्यक गुजुल्टीयका तार हटाउन काठ्माडौं महानगरपालिकाले निर्देशन दिएको छ। पोलमा छोडीएका प्रयोगविहीन तार १५ दिन भित्र हटाउन निर्देशन दिएको हो।
सोमबार नगर प्रमुखस्तरीय निर्णयबाट टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कार्यालय तथा संघ संस्थाहरु नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत प्राधिकरण, केबुल प्रसारक संघलगायतलाई पत्र पठाउँदै तार हटाउन र प्रयोगमा रहेका तार ट्यागिङ गरेर व्यवस्थापन गर्न समय तोकिएको महानगरपालिकाले जनाएको छ।
महानगरले मंगलबार यसै विषयमा एक सूचना जारी गर्दै तार व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई समय सीमा तोकेको हो। बिजुली, टेलिफोन, इन्टरनेट तथा केवललगायत तारको प्रयोग गरेर सेवा प्रदान गरिरहेका सेवा प्रदायक निकाय तथा संघ र संस्थाले पोलमा गुजुल्टो बनाएर राखेका, चुँडिएर तथा लत्रिएर सडकमा छरिएका तारहरूले सहरी सुन्दरतामा ह्रास पुऱ्याएका उक्त सूचनामा उल्लेख गरिएको छ।
यस्ता तारहरुले शहरमा आगलागीको जोखिम बढाइरहेका छन्। यी तारहरुले सार्वजनिक आवागमनमा समेत असर गरिरहेका छन्।
महानगरले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र उक्त तार केवल नहटाइएमा १६ दिनपछि महानगरपालिका आफैले हटाउने जनाएको छ।