काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिलाई खारेज नगरे आन्दोलन जारी राख्ने उद्घोष गरेकी छन् । अध्यक्ष सिंहले आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) अहिलेको सरकारमा भए पनि उसले गर्ने नराम्रा कामप्रति खरो उत्रने चेतावनी दिएकी हुन् ।
सोमबार राजधानीको संवाद डबलीले पेट्रोलियम पदार्थ सम्बन्धी गरेको आन्दोलन जनताको पक्षमा नहुन्जेल जारी राख्ने बताइन् । निगमले बारम्बार पेट्रोलियम पदार्थको मूल्य समायोजनका नाममा जनताको ढाड सेकाउने कार्य गरेकोले पछिल्लो समयमा बढाएको मूल्य नघटाए कडा आन्दोलन गर्ने चेतावनी दिएकी छन् ।
अध्यक्ष सिंहले अत्यधिक मूल्यवृद्धि गर्दा पनि घाटा भयो भन्ने कुरा हास्यास्पद भएको बताउँदै भनिन्,“भारतबाट ८३ रुपैयाँमा खरिद गरेर नेपालमा १ सय ३६ मा बिक्री गर्दा पनि अझै घाटा भयो रे कसले पत्याउने ?”
अध्यक्ष सिंहले भारतबाट आवश्यकताभन्दा बढी तेल आउने र त्यसको हिसाब गायब रहनु, आयल निगमजस्ता संस्थामा जानलाई मानिसको लुछाचुँडीले पनि त्यहाँ भ्रष्टाचार हुने कुरा प्रष्ट भएको बताइन् ।