कालिकोट ।जिल्लाको पलाता गाउँपालिकाले गाउँपालिका मातहतका कर्मचारीलाई पालिकाका विकास निर्माणका काममा अनिवार्य श्रमदानमा लगाएको छ । पालिकाको विकासमा कर्मचारीको भूमिका महत्वपूर्ण हुने भन्दै अस्थायी तथा स्थायी कर्मचारीलाई श्रमदान गर्न लगाइएको हो ।
कार्यालयको समयबाहेक अन्य समयमा आ–आफ्नो कार्यक्षेत्रमा विकासका काममा सहयोग गर्न आग्रह गरिएपछि कर्मचारी पनि श्रमदानमा जुटेका हुन् ।
पालिकाको निर्माण र समृद्धिको अभियान आफैंबाट सुरुआत गर्ने उद्देश्यसहित प्रत्येक कर्मचारीलाई गाउँपालिकाको विकासमा श्रमदान गर्नका लागि अभियान सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए ।
सरकारी लगानी र अनुदानमा बनिरहेका विकास निर्माणका संरचनामा मात्र नभई, गाउँ सरसफाइ, विद्यालय अनुगमन, वन सुरक्षा, पानीका मुहान सफाइ, विद्युत नहर मर्मत, भवनका पर्खाल निर्माण, सिँचाइ कुलो निर्माण कार्यमा अनिवार्य कर्मचारीले श्रमदान गर्ने नीति बनाइएको अध्यक्ष बमले जानकारी दिए ।