काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूमिसम्बन्धी समस्या समाधानको काम तोकिएकै समयमा सक्न निर्देशन दिएकी छन्।
राष्ट्रिय भूमि आयोगको कार्यालय ताहाचल काठमाडौंमा सोमबार भएको आयोगको कार्ययोजना तथा कार्यपत्र प्रस्तुति कार्यक्रममा मन्त्री श्रेष्ठले उद्धेश्यअनुसार परिणाम निस्कने गरी काम गर्न राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई निर्देशन दिएकी हुन्।
मन्त्री श्रेष्ठले यसअघिका आयोगहरूले गरेका कामलाई समेत आधार मानेर बाँकी काम तोकिएको समयमा नै सम्पन्न गर्नेगरी योजनाबद्ध रूपमा लाग्न आग्रह गरिन्।
उनले संविधानमा भएको व्यवस्था कार्यान्वयन गरी नागरिकलाई अधिकार दिने विषयमा अब ढिलाइ गर्न नहुने भन्दै प्रभावकारी रूपमा काम गर्नेगरी योजना र कार्यविधि बनाउन निर्देशन समेत दिइन्।
मन्त्री श्रेष्ठले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीसम्बन्धी समस्या फेरि पनि रहिरहने र पटक–पटक आयोग र समिति बनाउने कार्यको अन्त्य गर्ने गरी काम गर्न समेत आयोगका पदाधिकारीलाई आग्रह गरिन्।