काठमाडौं । ठेक्काको टेन्डर सूचना ठेकेदारकै मिलेमतोमा जारी भएको पाइएपछि पर्यटनमन्त्री प्रेमबहादुर आलेले ठेक्कामा रोक लगाएका छन् । बढीमालिका, मनास्लु र धौलागिरि क्षेत्रमा पर्ने ग्रेट हिमालयन ट्रेल अर्न्तगत रहेका पदमार्ग सुधार र निर्माणका लागि आह्वान गरिएको टेन्डर ठेकेदारसँगको सेटिङमा गरेको पाइएपछि मन्त्रीले सूचना रद्द गराएका हुन् ।
पदमार्ग सुधार र निर्माणका लागि पर्यटन विभागले कात्तिक ११ गते एक दैनिक पत्रिकामा ५/५ करोडका दरले १५ करोड रुपैयाँ बराबरको निर्माण तथा सुधार गर्न सूचना निकालेको थियो ।
सूचनाले सबै समूहका निर्माण व्यवसायीलाई प्रतिष्पर्धा गर्ने बाटो रोक्दै विभागबाट विगत तीन/चार वर्षदेखि निर्माणको ठेक्का सेटिङमा लिँदै आएका केही निर्माण व्यवसायीको मात्रै योग्यता पुर्याउने गरी सूचना निकालेको भन्दै उजुरी परेको थियो ।
पर्यटनमन्त्री आलेले गोप्य तरिकाले छानबिन गर्दा पदमार्गमै काम गरेको, कारोबार रकमको सीमा तोकिएको, ढुंगा छापेको घनमिटर तोकिएर टेन्डर निकालेको पाइएको बताएका छन् ।
बोलपत्रमा कुनै निश्चित कम्पनीको योग्यता मात्रै मिल्ने गरी माग गरिएको पाएपछि मन्त्री आलेले सोमबार पर्यटन सचिव यादव कोइराला, पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारी र टेन्डर डकुमेन्ट निकाल्ने विभागका इन्जिनियर सचिन्द्र यावदलाई बोलाई सूचना रद्द गर्न निर्देश दिएका थिए ।
मन्त्रीको निर्देशनलगत्तै सोमबार साँझ विभागले कात्तिक ११ गते जारी गरेको सूचना रद्द गरेको जनाएको छ ।