काठमाडौं । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलबीच भेटवार्ता भएको छ । सोमबार भरतपुर महानगर प्रमुख दाहालको कार्यकक्षमा भेटवार्ता भएको हो ।
भेटवार्तामा राजदूत युसुफ बिन मोहम्मद अल–हेलले प्रमुख दाहालसँग समग्र चितवन र यसको विकासको बारेमा जिज्ञासा राखेका थिए । राजदूत मोहम्मदले भरतपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग प्रविधि र अनुसन्धानलाई आदानप्रदान गर्ने गरी सम्झौताअनुसार काम अगाडि बढाइरहेको बताए ।
राजदूत मोहम्मदले नेपाल प्रकृतिको सुन्दर मुलुक रहेको भन्दै पर्यटन प्रवद्र्धनमार्फत नेपालले लाभ लिन सक्ने बताए।
महानगर प्रमुख दाहालले कृषि तथा पशुविज्ञान विश्वविद्यालयसँग प्रविधि आदानप्रदानका लागि दुई पक्षीय सम्झौता सम्पन्न गरेकोमा खुशी व्यक्त गर्दै यसबाट कृषि र प्रविधिको क्षेत्रमा गरिने अध्ययन र अनुसन्धानले दुई देशको कृषि प्रणालीमा आधुनिकीकरण गर्न थप सहयोग पुग्ने बताइन् ।
कतारका विकासका असल अभ्यास अनुसरण गर्न भरतपुर महानगरपालिका आतुर रहेको प्रमुख दाहालको भनाइ थियो । प्रमुख दाहालका अनुसार राजदूत मोहम्मदसँगको भेटका क्रममा कतारको एक नगरसँग भरतपुर महानगरले भगिनी सम्बन्ध कायम गरी भरतपुर महानगरमा बनिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण पूरा गर्न सहकार्य गर्ने विषयमा पनि छलफल भएको छ ।