काठमाडौं। मनाङमा बेमौसमी हिमपातका कारण विकास निर्माणका कार्य प्रभावित बनेका छन्। जिल्लामा थालिएका निर्माण योजनाहरु हिमपातका कारण ठप्प बनेका हुन्।
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले मंगलबार रातिबाट परेको हिमपातका कारण सामान ढुवानी नहुँदा निर्माणको काम प्रभावित भएको बताए। उनले निर्माणका कामलाई तीव्र बनाउनुपर्ने समयमा हिमपातका कारण विकास निर्माणको काम प्रभावित भएको गुनासो गरे। मनाङमा हिमपात र बर्खायामको दुवै सिजनमा मौसमले साथ नदिने गरेको समेत उनले बताए।
पुस–माघमा पर्याप्त हिमपात नभए पनि बेमौसममा वैशाखमै हिउँ परेको छ। यसअघि ०७६ मा पनि मनाङमा वैशाख–जेठमा हिमपात भएको थियो।
पुस–माघमा परेको हिमपातले बालीनाली सप्रने भए पनि बेमौसममा परेको हिमपातले बालीनाली बिगार्ने गरेको स्थानीयको भनाइ छ।