काठमाडौं । अब कम्तीमा दुईपटक म्याद थपिएका आयोजनाको म्याद पुनः नथपिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले दुईपटक म्याद थपिएका आयोजनाको म्याद पुनः नथप्ने निर्णय गरेको जानकारी दिएकी हुन् ।
मन्त्रीले देशभर त्यस्ता आयोजनाको सूची के कति छ तयार गर्न कर्मचारीलाई दिर्नेशनसमेत दिएकी छन् । ‘त्यति मात्र होइन, ठेक्काको म्याद एकपटक थप गर्ने क्रम पनि बन्द गरिनेछ । कम्तीमा मेरा पालामा म्याद थपिनेछैन,’ उनले भनिन् । अब ठेकेदारलाई कारबाहीको प्रक्रिया अगाडि बढाउनुको विकल्प मन्त्रालयसँग नरहेको उनको भनाइ छ । ‘त्यो कारबाही भनेको ठेक्का रद्द गर्नु हो । ठेक्का रद्द गर्नुअघि ठेकेदारलाई अन्तिमपटक एकचोटि काम थाल्न भने भनिनेछ,’ उनले भनिन् ।
सडक विभागका अनुसार देशभर दुई वा दुईचोटिभन्दा बढीपटक म्याद थपेका ठेक्काको संख्या दुई सय रहेको छ । ‘देशभर एक सय पुल र एक सय सडक गरी दुई सय आयोजनाको ठेक्कालाई दुई वा त्योभन्दा बढीपटक म्याद थपिएको छ,’ सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले भने । विशेष गरी कोभिडका कारण केही नरम भए पनि अब कडा रूपमा प्रस्तुत हुने उनको भनाइ छ ।