चितवन। भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले यही गतिमा भरतपुरको विकास भएमा साच्चिैकै स्मार्ट सिटी बन्ने दाबी गरेका छन् । अपांग समाज चितवनले आइतबार भरतपुरमा गरेको भित्ते पात्रो विमोचन तथा आर्थिक वर्ष २०८०।८१ को बजेट तर्जुमा कार्यक्रममा बोल्दै अधिकारीले यस्तो दाबी गरेका हुन् ।
उपमेयर अधिकारीले विकासका काममा कसैले औला ठड्याउने हिम्मत आज सम्म नगरेको भन्दै महानगर तीब्र विकासको गतिमा अगाडि बढेको बताए । यही गतिमा महानगरमा विकासको क्रम बढ्दै गयो भने भरतपुर महानगरपालिका साच्चिकै स्मार्ट सिटी बन्नेमा पुर्ण विश्वास रहेको उनले दाबी गरेका हुन् ।
उनले जनताका काम गर्ने सवालमा भरतपुर महानगरपालिकाले कुनै पनि कन्जुस्याइँ नगर्ने प्रष्ट पारेका छन् । बिगतका पाँच वर्षमा पनि महानगरले जनताका सामु राखेका विकास निर्माणका आयोजनाहरुको काममा यो या त्यो नभनी बिना शर्त काम गरेको तस्वीर छर्लङ्ग रहेको पनि उनले प्रष्ट पारे । ‘अबको हाम्रो बाँकी समय पनि भरतपुर महानगरको विकासमै खर्चिने गरी महानगरले एक खालको कार्यतालिका बनाइसकेको छ’ उपमेयरले भने । देशभरी कै हेर्न लायकको विकास अब भरतपुरमा हुन्छ ।
भरतपुर महानगरपालिका नगर उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका अपाङ्गता भएका व्यक्तिहरुको सेतो छडीको रुपमा रहेको दाबी गरेका छन् । ‘स्थानीय सरकार तपाइँहरुको घर आगनको आफ्नै सरकार हो, हामी तपाइँहरुको दुःखसुखको साहारा मात्रै नभइ टेक्ने सेतो छडी पनि हौं’ उपमेयर अधिकारीले कार्यक्रममा भने । अधिकारीले महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई सपाङ्ग नागरिक सरहको सेवा तथा सुविधा प्रदान गरिरहेको पनि उल्लेख गरे ।
कार्यक्रममा अपाङ्ग समाज चितवनका अध्यक्ष होमनाथ अधिकारीले जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुको संख्या एकिन नभएको बताए । जिल्लामा हामी तथ्यांक संकलन गर्ने क्रममै छौ अध्यक्ष अधिकारीले भने, ‘अहिले नै भनी हाल्ने अवस्था भने छैन ।’