काठमडौं। काठमाडौं महानगरपालिकाले सिंहदरबार अगाडि रहेका अवैध संरचना र अव्यवस्थित रूपमा फालिएका फोहरमैला हटाएको छ । राष्ट्रिय वाणिज्य बैंकदेखि नेपाल टेलिकम केन्द्रीय कार्यालय वरिपरिका अवैध संरचना तथा अव्यवस्थित फोहरमैला हटाएको हो ।
तीन दिन अगाडिदेखि भवन वरिपरिका अव्यवस्थित फोहरमैला हटाउन माइकिङ गरेको र आज महानगरले विशेष सरसफाइ अभियान सञ्चालन गरेको महानगरले जनाएको छ।
आफ्नो घर, कार्यालय अगाडि सरसफाइ गरिदिनु हुनका लागि महानगरले अनुरोध गर्दै आएको छ ।
सरकारी कार्यालय अगाडि अवैध संरचना तथा अव्यवस्थित फोहरमैला राखेमा जरिवाना गर्नुपर्ने विषयमा छलफल भइरहेको बताइएको छ। सिंहदरबारको पश्चिम गेट अगाडि पुल मुनी रहेका रेस्टुराँलगायतले निर्माण गरेका अवैध संरचना हटाइएको हो । महानगरले टुकुचा खोला वरपर सफा गर्नुका साथै शौचालयलगायतका संरचना हटाएको छ ।
महानगरले विभिन्न ठाउँमा प्रत्येक दिन विशेष सरसफाइ अभियान सञ्चालन गर्दै आएको र आगामी शनिबार वृक्षारोपणको कार्यक्रम गर्ने महानगरले जनाएको छ।