गोरखा। जिल्लाको सहिद लखन गाउँपालिकामा चेपाङ संग्रालय निर्माण गरिएको छ। चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि चेपाङ संग्रालय निर्माण गरिएको हो।
आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा वडा कार्यालयले विनियोजन गरेर संग्रालय निर्माणको काम सम्पन्न भएको बताइएको छ। स्थानीयले निःशुल्क उपलब्ध गराएको जग्गासहितको क्षेत्रमा संग्रालय निर्माण गरिएको हो। उपभोक्ता समितिमार्फत निर्माण गरिएको संग्रालय चेपाङ समुदायको संस्कृति झल्कने खालको घर निर्माण भएको छ।
संग्रालयमा चेपाङ समुदायले परम्परागतरूपमा प्रयोग गर्ने वेषभूषा, भाङग्रा, जङ्गलमा गिट्ठा टिप्न जाँदा प्रयोग गर्ने सामग्री, चमेरो मार्न प्रयोग गर्ने सामग्रीलगायतका सबैखालका परम्परागत सामग्री राखिने बताइएको छ।