काठमाडौं। सरकारले मिटरब्याजीलाई कारबाही गर्न कानुन ल्याएसँगै महोत्तरीमा मिटरब्याजीविरुद्ध धमाधम उजुरी पर्न थालेको छ । महोत्तरीमा हालसम्म मिटरब्याजीविरुद्ध एक हजार ७३४ उजुरी दर्ता भएको हो।
सरकारले अध्यादेश ल्याउँदै अनुचित लेनदेन (मिटरब्याज) गरेका व्यक्तिलाई कारबाही गर्ने भन्दै पीडितलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउन समय दिएपछि अहिले महोत्तरीमा मिटरब्याजीविरुद्ध उजुरी दर्ता गराउनेको सङ्ख्या बढ्दै गएको बताइएको छ।
गत वैशाख १८ गतेदेखि पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्न थालेका हुन् । यो क्रम जारी रहेको छ । जिल्ला प्रशासन कार्यालयले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गराउन आउने पीडितका लागि सूचना सङ्कलन गर्ने, परामर्श दिने र उजुरी दर्ता गर्ने काम गरिरहेको छ।