हुम्ला। कर्णली करिडोरको हुम्ला खण्डअन्तर्गत पर्ने सुनाखाडा र लालीबगर क्षेत्रको सडक निर्माण कार्य सम्पन्न भएको छ। नेपाली सेनाले निर्माण गरेको सडकको काम एक वर्षमा पूरा भएको हो।
यस क्षेत्रमा गत वर्ष जेठबाट सेनाले काम सुुरु गरेको थियो। सुनाखाडा खण्डको पाँच सय मिटर र लिग्या क्षेत्रको दुुई सय मिटर चट्टानी भीरलाई विस्फोट गरेर सडक निर्माण पूरा भएको छ।
यस खण्डमा स्तरीय सडक निर्माण भएसँगै अब राष्ट्रिय सडक सञ्जालसँग जोडिने दिन नजिक आएको छ।
कर्णाली करिडोर सडक निर्माण आयोजना सुनाखाडाले निकै असजिलो क्षेत्रमा पर्ने दुुई स्थानमा आठ महिना लगाएर विस्फोट गर्ने कार्य, मेसिनबाट निर्माण र कामदार लगाएर सँगै काम सम्पन्न भएको जनाएको छ।
सात किमि लम्बाइ रहेको सुनाखाडा र लालीबगरको लिग्यासम्मको सडकको ट्र्याक खुलाउने, ढुंगा पन्छाउने, माटो सम्याउने, छेउमा गाह्रो लगाउने र सिमेन्टको समेत काम सम्पन्न भएर गाडी सञ्चालन गर्न सकिने गरी सडक निर्माण पूरा भएको सेनाले जनाएको छ।