काठमाडौं। संसद भवन निर्माणको काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्। सभामुख देवराज घिमिरेले संसद भवन निर्माण समयमै सक्न निर्देशन दिएका हुन्।
सिंहदरबारस्थित निर्माणधीन संसद भवनको बिहीवार निरीक्षण एवं अवलोकन गर्दै उनले ठेक्का समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले अहिले ठेक्का प्राप्त समयको हिसावले काम कम भएको बताए। उनले अबका दिनमा कामले गति लिने विश्वास व्यक्त गरे । विगतका प्रतिकुलतालाई अनुकुलतामा बदलेर तोकिएको समयभित्रै काम सम्पन्न गर्नुपर्नेमा जोड दिए।
सभामुख घिमिरेले वर्तमान अवस्थामा देशको अर्थतन्त्र सन्तोषजनक नरहेपनि संसद भवन निर्माण कार्यका लागि सरकारले भुक्तानी गर्न आनाकानी नगरेको बताएका छन्। उनले सबै भुक्तानी समयमा नै दिइरहेकाले निर्माण पक्षले पनि सरकारको आवश्यक्तालाई बुझेर निर्माण कार्य समयमा नै सम्पन्न गर्नुपर्ने बताए। उनले मन्त्रालय र ठेकेदार कम्पनीले एकले अर्कोलाई दोष लगाउनु भन्दा आफ्नो काम सम्पन्न गर्नेकुरामा बढी जोड हुुनपर्ने बताएका छन्।
यस्तै शहरी विकासमन्त्री सीता गुरुङले नयाँ संसद भवन निर्माणको म्याद सरकारले थप्न नसक्ने बताकी छन्। यसअघि पनि सरकारले दुई पटकसम्म म्याद थपिसकेको भन्दै अब ठेक्का समय थप्न नसक्ने उनले बताएकी छन्।