काठमाडौं। विद्यालयसहितको भवन भासिएपछि बझाङमा खेतमा पठनपाठन भइरहेको छ। गत असोज ३१ देखि कात्तिक ३ गतेसम्मको वर्षाले जयपृथ्वी नगरपालिका–१ कैलाशस्थित बेताल आधारभूत प्राथमिक विद्यालयको भवन भासिएपछि हाल खेतमा कक्षा सञ्चालन भइरहेको हो।
अत्यधिक वर्षाले विद्यालयको भवन र जमिन भासिएको छ। विद्यालयमा कक्षा सञ्चालन गर्न सकिने अवस्था नभएपछि विद्यालय नजिकैको खेतमा पठनपाठन गर्नुपरेको प्रधानाध्यापक पुष्पराज जोशीले जानकारी दिए। २०५४ मा स्थापना भएको उक्त विद्यालयमा हाल छात्रछात्रा गरी १७४ विद्यार्थी अध्ययनरत छन्।
विद्यालयको शौचालयसमेत पहिरोले पुरिएको छ। जयपृथ्वी नगरपालिका–१ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर सिंहले चाँडै विद्यालय भवन निर्माण गरिने बताउँछन्। नयाँ भवन निर्माणको बजेटबारे भने सिंह अनविज्ञ छन्। बेताल आधारभूत प्राथमिक विद्यालयकै जस्तै खप्तडछान्ना गाउँपालिकामा–१ खाती गाउँस्थित जगदम्बा निमाविको आठ कोठे पक्की भवन पनि बाढीले बगाएपछि पठनपाठन खुल्ला चौरमा गर्नुपरिरहेको छ।
प्रधानाध्यापक लालबहादुर खत्रीका अनुसार हाल १६० विद्यार्थी चौरमा पढ्ने गरेका छन्। घाम लागेका बेला मात्र नियमित पढाइ हुन्छ, उनले भने, घाम नलागे जाडोका कारण पढाइ बन्द हुन्छ, जसले गर्दा विद्यार्थीको पढाइमा अझ मर्का परिरहेको छ। वर्षाका कारण बाढीपहिरोले जिल्लाभरी ६५ विद्यालयमा आंशिक क्षति भएको छ। दुई विद्यालयमा पूर्णरुपमा क्षति पुगेको सामाजिक विकास कार्यालयका प्रमुख वीरबहादुर धामीले जानकारी दिए।