काठमाडाैं। लिखु–२ जलविद्युत् आयोजनाको सुरुङबाट पानी चुहिएपछि जोखिममा परेका १६ परिवारलाई अन्यत्र सारिएको छ। निर्माणाधीन आयोजनाको सुरुङ चुहिएर गत सोमबारदेखि विस्थापित बनेका १६ परिवारलाई सुरक्षित स्थानमा सारिएको हो।
विस्थापित परिवारलाई आयोजनाले अस्थायी बासस्थान र खानाको प्रबन्ध गरेको छ। ५५ मेगावाट क्षमताको आयोजनाको उत्पादन गृहमा पानी खसाली परीक्षण गर्ने क्रममा सुरुङ भन्दा तल्लो भाग फुटेको थियो। पानीले घर पुग्ने बाटो नभएको, घरभित्रै पानी पस्न र पहिरो खस्न थालेपछि विस्थापितलाई अस्थायी बसोबासको प्रबन्ध गरिएको हो ।
सुरुङभन्दा तल्लो भागमा पानीका कारण भूक्षय हुने त्रास बढेकाले स्थानीय प्रशासनले आयोजनालाई सुरुङ बन्द गर्न आग्रह गरेको थियो । तर आयोजनाले स्थानीय प्रशासन र जनप्रतिनिधिको कुरा अटेर गरेपछि जिल्ला प्रशासन कार्यालयले विद्युत् विकास विभागलाई गुहारेको थियो । विभागको निर्देशनमा आयोजनाले केही दिनअघिबाट सुरुङमा पानी पठाउन रोकेको छ । तर पानी चुहिने क्रम भने रोकिएको छैन । सुरुङभित्र भरिएको पानी खोल्न नमिल्ने भन्दै आयोजनाले सुरुङ खाली गर्न मानेको छैन ।
स्थानीयले सुरुङका कारण रामेछापको उमाकुण्ड–१, गुम्देलको पेकरनास र आसपासका ४२ घरपरिवार उच्च जोखिममा परेको भन्दै अन्यत्र बसोबासको व्यवस्थापनका लागि माग गर्दै आएका छन्। ४२ मध्ये अति जोखिमयुक्त क्षेत्रमा बसोबास गर्दै आएका १६ परिवारलाई सुरक्षित स्थानमा सारिएकोले अब विज्ञ टोलीको प्रतिवेदन आएपछि थप निर्णय हुने आयोजनाले जनाएको छ । स्राेत: इ-कान्तिपुर