काठमाडौं। चित्लाङ–चन्द्रागिरि सडक एक साताका लागि बन्द भएको छ। हेटौंडाबाट कुलेखानी, मार्खु, चित्लाङ हुँदै काठमाडौं जोड्ने सडकको चित्लाङ–चन्द्रागिरि–थानकोट सडकखण्ड हिजो बिहीबारदेखि एक हप्ताका लागि बन्द भएको हो।
गणेशमान सिंह मार्ग नामकरण भएको चित्लाङ–चन्द्रागिरि–थानकोट सडक अन्तर्गत याकाखुसीदेखि ठुलोचौर सडकखण्ड कालोपत्रे गर्नका लागि सडक बन्द गरिएको हो।
थाहा नगरपालिका–९ को कार्यालयले गणेशमान सिंह मार्गको याकाखुसीदेखि ठूलोचौरसम्मको सडकखण्ड कालोपत्रे हुने भएकाले एक हप्तासम्मका लागि उक्त सडकमा अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधनका लागि बन्द रहने जनाएको छ।
यस्तै थानकोट–चन्द्रागिरि–चित्लाङ सडकको चित्लाङतर्फ करिब दुई किमी खण्डमा कालोपत्रे गर्ने गरी तयारी भएको सडक सरोकार समितिले जनाएको छ। अत्यावश्यक र बिरामी बोकेका सवारीसाधनबाहेक अन्य सवारीसाधन अर्को सूचना नभएसम्मका लागि बन्द रहने बताउँदै वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ।