बैतडी । बैतडीको पाटन–पञ्चेश्वर सडकखण्डमा रिले अनशन बसेर सडक मजदुरले आन्दोलन गरिरहेका छन् । दुई वर्षदेखि पारिश्रमिक नपाएको भन्दै सडक मजदुर आन्दोलित भएका हुन्।
उनीहरु सडकमै अनशन बसेर आन्दोलन गरिरहेका छन् । सडकमा अनशन बसेपछि पाटन नगरपालिका–६ स्थित लोर्खामा सडक अवरुद्ध भएको छ ।
मंसिर १ गतेदेखि दोस्रोपटक अनशन सुरु गरेका मजदुरले दुई वर्षदेखिको पारिश्रमिक पाउनुपर्ने र रोजगारी सुनिश्चितताको माग गरेका छन्। सडकखण्ड बिहानैदेखि अवरुद्ध भएकाले प्रहरी टोली खटिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए।
यसअघि गत असारमा २१ दिन पाटन–पञ्चेश्वर सडकखण्डको प्रवेशद्वार पाटन बजारनजिकै २१ दिन रिले अनशन बसेका थिए। त्यतिबेला पनि आश्वासनकै भरमा अनशन तोडेका थिए। सडक मजदुरहरु पारिश्रमिक र रोजगारी सुनिश्चतताको माग गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको कार्यालय समेत धाएका थिए। तर, त्यहाँबाट समेत आश्वासनमात्रै पाएको जयराम भुलले बताए।